काठमाडौं। बबई–छिन्चु सडक सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि ६ वटा परामर्शदाता प्राविधिक रुपमा छनोट भएका छन्। नेपालगन्ज–सुर्खेत जोड्ने सडक रत्न राजमार्गमा पर्ने बबई–छिन्चु सडक सुरुङमार्गको अध्ययना गर्न आर्थिक प्रस्तावका लागि ६ कम्पनी छानिएका हुन्।
गुणस्तर अनुसन्धान विकास केन्द्रले सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि पुस महिनामा ठेक्का आह्वान गरेको थियो।केन्द्रले बिहीबार एक सूचना जारी गर्दै ६ वटा परामर्शदाता प्राविधिक रुपमा पास भएको जानकारी दिएको हो।
छनोट भएका कम्पनीमा ईआरएमसी–स्लेट जेभी, जिइसी–युनिटस्इ–पीस्न्टर जेभी, एचसीइ–साखुवा–ग्रान्ड जेभी, आइटीइको–टीएमएस–रेज जेभी, सिल्ट–बिडिए–क्वीस्ट जेभी र सितारा–इआइएम–इन्जिनियरको घर जेभी लगायतका रहेका छन्।
केन्द्रले यिनै परापर्शदाताहरुबाट एउटा छनोट गरी काम अगाडि बढाउने जानकारी दिएको छ। प्राविधिक रुपमा छनोट भएका यी कम्पनीहरुले अब आर्थिक प्रस्ताव पेश गर्नुपर्ने हुन्छ। खरिद ऐनअनुसार सामान्यतया आर्थिक प्रस्ताव खोल्ने वा पेश गर्ने समय १५ दिनको हुन्छ ।
सोही आर्थिक प्रस्तावको आधारमा कम रकमको कबोल गर्ने कम्पनीले यो सुरुगमार्गको सम्भाव्यता अध्ययनका छनोट हुनेछ। चालु वर्ष बबइछिन्चु सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सरकारले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।