काठमाडौं। तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु गरेको छ। व्यास–१० स्थित पीसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगरस्तरीय कोभिड अस्पतालको भवन निर्माण सुरु गरेको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त भवनको आज शिलान्यास गरेका छन्। शिलान्यास गर्दै सङ्घीयताका कारण जनताले गाउँघरमै सेवा लिन पाएको उनले बताए। स्थानीय तह नभएको भए कोभिडको महामारीमा जनताले अकालमा मृत्युवरण गर्नुपर्ने स्थिति आउने जनाउँदै उनले भने, “संविधानले व्यवस्था गरेबमोजिमको सङ्घीयताले आज जनताले वडा–वडामै स्वास्थ्य सेवा पाउन सफल भएका छन्।”
कोभिड–१९ को महामारीमा आफ्नै अस्पताल नहुँदा समस्या भएकाले नगरस्तरीय अस्पतालको आवश्यकता खड्किएकाले नगरपालिकाले अस्पताल निर्माण सुरु गरेको नगरपालिकाले बताएको छ। दमौली आसपास सार्वजनिक जग्गा नपाइएपछि पीसीआर प्रयोगशाला भएकै ठाउँमा अस्पताल निर्माण सुरु गरिएको हो।
रु एक करोड ५६ लाखमा अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरे पनि रु ८९ लाख ९४ हजार ३१४ मा ठेक्का लागेको छ। आठ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी अस्पताल निर्माणको जिम्मा क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन प्रालिले पाएको छ। उक्त अस्पताल २५ शय्या क्षमताको हुनेछ।