मकवानपुर। हेटौँडामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगका कारण स्थानीयबासी समस्यामा परेका छन्। हेटौँडा–४ गिुंगु क्षेत्रमा सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खनन गर्न थालेपछि स्थानीय चेपाङ समुदाय समस्यामा परेका हुन्।
चुनढुङ्गा उत्खननका क्रममा स्थानीयवासीको घर नै पुर्न थालेपछि चेपाङहरुहरुले तत्काल पुनर्वासको माग गरेका छन् । ६० घरपरिवारले तत्काल पुनर्वासको व्यवस्था, जबर्जस्ती घरबास उठाउन बन्द गर्न र उचित मुआब्जाको व्यवस्थाको माग गरे पनि सरोकारवाला पक्ष मौन रहेकाले आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।
राक्सिराङ क्षेत्रमा चेपाङ समुदायहरु केही समय अघिसम्म आन्दोलनमा उत्रिए पनि केही नलागेपछि विस्थापित नै हुनुपरेको राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले जनाएको छ । आयोगले खानी क्षेत्र आसपासका करिब ३५ घरधुरी विस्थापित भइसकेको जनाएको छ। आयोगका अनुसार थानीय गोठे चेपाङ आफ्नो १८ जनाको परिवारसहित राक्सिराङ–४ का विश्वराज मोक्तानको घरमा आश्रय लिएर बसिरहेका र खानी क्षेत्रमा रहेको उनको जग्गा दलालमार्फत उद्योगलाई बिक्री भइसकेको खुल्न आएको छ ।
खानी क्षेत्रबाट विस्थापित भएका केही बासिन्दा मनहरि गाउँपालिका–७ मा आएर बसेका छन् । अन्य विस्थापित परिवार अन्यत्र गइसकेको आयोगको अध्ययनले जनाएको छ ।