तनहुँ। तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगरस्तरीय कोभिड अस्पताल निर्माण गर्न शुरु गरेको छ। व्यास–१० स्थित पीसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगरस्तरीय कोभिड अस्पतालको भवन निर्माण गर्न शुरु गरेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भवनको शिलान्यास गरेका छन्। शिलान्यास पछि बोल्दै उनले संघीयताका कारण जनताले गाउँघरमै सेवा लिन पाएको बताए ।
स्थानीय तह नभएको भए कोभिडको महामारीमा जनताले अकालमा मृत्युवरण गर्नुपर्ने स्थिति आउने जनाउँदै संविधानले व्यवस्था गरेबमोजिम जनताले वडा–वडामै स्वास्थ्य सेवा पाएको बताए ।
स्वास्थ्यको क्षेत्रमा सिंहदरबारले मात्र केही गर्न नसकेको जनाउँदै उनले कोभिड महामारी नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास सराहनीय रहेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोभिड–१९ नियन्त्रणका लागि विगतदेखि नै व्यासको महत्वपूर्ण योगदान रहेको बताए । कोभिड–१९ को महामारीमा आफ्नै अस्पताल नहुँदा समस्या भएकाले नगरस्तरीय अस्पतालको आवश्यकता खड्किएकाले नगरपालिकाले अस्पताल निर्माण शुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
१ करोड ५६ लाख रुपैयाँमा अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरे पनि ८९ लाख ९४ हजार ३१४ मा ठेक्का लागेको छ । अस्पताल निर्माणको जिम्मा क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन प्रालिले पाएको छ भने ८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।