काठमाडौं। कर्णालिको मुर्मा सामुदायिक होमस्टे अलपत्र परेको छ। आवस्यक काठ उपलब्ध नहँदा होमस्टे अलपत्र परेको हो।
उक्त होमस्टे समुदायका सबै घरधुरी लाई स्वरोजगार हुने उद्देश्यले सञ्चालनमा ल्याइएको थियो। तर स्थानीय सामुदायिक वनबाट आवश्यकताअनुसार काठ उपलब्ध नहुँदा स्थानीयहरु समस्यामा परेको बताएका छन्। मुर्मा गाउँमा सामुदायिक होमस्टे सञ्चालन भएपछि गाउँमै धेरैले रोजगार पाएको र गाउँलेहरु स्वरोजगार बनेको स्थानीयको बुझाई छ।
कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा मुर्मा सामुदायिक नमुना होमस्टे सञ्चालन गरिए पनि आवश्यक काठ उपलब्ध नहुँदा कतिपय घर निर्माणको काम अलपत्र परेको स्थानीयको गुनासो छ।
प्राबिधिक मुल्यांकन र अनुगमन गर्ने जिम्मा डिभिजन वन कार्यालय मुगुले गरेको छ। मुर्मा गाउँमा स्थायी बसोवास गर्ने ७० वटा घरधुरीमा होमस्टे निर्माण गर्नलाई रारा राष्ट्रिय निकुञ्जले प्रति घरधुरी २५ क्यूफिट काठ उपलब्ध गराउँदा गत बर्षको साउन मसान्तसम्म होमस्टे निर्माण हुन नसकेको बताइएको छ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखकाअनुसार एकै पटक धेरै काठ दिन नमिल्ने कार्यबिधि रहेकाले नयाँ घर लगाउँदा प्रतिघरले ३० क्यूफिटसम्म काठ दिने ब्यवस्था भएको छ। काठ अभाबले समयमै होमस्टे सञ्चालन हुन नसक्दा मुर्मा गाउँका स्थानीयले आम्दानी गर्न नसकिरहेको स्थानीयले बताए।