काठमाडौं। बसपार्क निर्माण योजनामा हिनामिना गरेपछि ८ जना अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका उपप्रमुख, वडाध्यक्षसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उपभोक्ता समितिका अध्यक्षलगायतका पदाधिकारी एवं नगरपालिकाका प्राविधिक प्रमुख, इन्जिनियर र सब–इन्जिनियर समेतविरुद्ध मुद्दा दायर गरिएको बताइएको छ। बागलुङ नगरपालिकाको दाबगरा बसपार्क निर्माण योजनामा हिनामिना भएको अनुसन्धानबाट खुलेको बताइएको छ।
उक्त योजनामा उपप्रमुख सुरेन्द्र खड्का, वडा नं. ४ का वडाध्यक्ष ध्रुवबहादुर केसी र इन्जिनियर मनोज शर्मा सदस्यसचिव भएको समितिले गलत प्रतिवेदन तयार गरी फरफारकका लागि सिफारिस गरेकाले पाँच लाख ९० हजार ५०९ रुपियाँ बिगो माग दाबी लिई कारबाहीको माग गरेको आयोगले जनाएको छ।
त्यसैगरी प्राविधिक प्रमुख दयाराम अधिकारी, सब–इन्जिनियर घनश्याम रिजाल र इन्जिनियर मनोज शर्माले फिल्डमा नभए नगरेका काम लगत अनुमानभन्दा बढी कुरा नापी किताबमा अस्वाभाविक रूपमा परिमाण परिवर्तन गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले तीनै जनामाथि पाँच लाख ९० हजार ५०९ रुपियाँको बिगो माग दाबी लिएको बताइएको छ।