काठमाडौं। गत आइतबार बसेको प्रतिनिधिसभा सभाको बैठकले अमेरिकी अनुदान मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन गरेपछि निजी क्षेत्रका व्यवसायीहरु उत्साहीत बनेका छन्।
निजी क्षेत्रका उद्योगी व्यवसायीको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ती जारी गर्दै एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदनले व्यवसायीहरु उत्साहित भएको जनाएको छ।
ऊर्जा र सडक पूर्वाधार निर्माणमा अमेरिकाले दिने ५० करोड अमेरिकी डलर अनुदान लिनेसम्बन्धी कम्प्याक्ट सम्झौता आइतबार प्रतिनिधिसभा बैठकले अनुमोदन गरेको थियो ।
महासंघले प्रतिनिधिसभाबाट केही वुँदाहरुमा रहेको अस्पष्टता समेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएपछि केही विषयमा रहेका सबै भ्रमहरु चिरिने जनाएको छ ।
नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौता अनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम संघीय संसदबाट सम्झौता अनुमोदन पश्चात शुरु हुनेछ । सम्झौता अनुमोदन पश्चात अव यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने महासंघको विश्वास लिएको छ ।
नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने महासंघले विश्वास व्यक्त गरेको छ।