काठमाडौं । फलामे छडको मूल्य प्रतिकिलो चार रुपैयाँले घटेको छ । नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य प्रतिकिलो ४ रुपैयाँ घटाएर बेच्न उद्योगीहरूलाई निर्देशन दिएको हो ।
छडको नयाँ मूल्य शनिबारदेखि नै लागू हुनेगरि घटाउन निर्देशन दिएको संघका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए । सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनले स्पन्ज आइरनमा अन्तःशुल्क घटाउँदा डन्डीको बजार मूल्य पनि घटेको भन्दै उद्योगीहरूले पनि घटाएर नै बिक्री गर्नुपर्ने संघको भनाइ छ ।
फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघले जानकारी दिएको हो ।