ठूलो सङ्ख्यामा दुर्घटना हुने उपचार केन्द्र तथा ‘मास क्याजुलिटी ट्रिटमेन्ट सेन्टर’का रूपमा प्रस्ताव गरिएकोे वीरेन्द्र अस्पतालको निर्माण कार्यको प्रकृया अघी बढाइएको छ।
प्राकृतिक विपत तथा महामारीको समयमा एकै पटक छ हजार बिरामीलाई प्राथमिक उपचार गर्न सक्ने क्षमता भएको प्रस्तावित उक्त अस्पतालको निर्माण कार्यको प्रक्रिया अगाडि बढाउन आवश्यक परेको बजेट सुनिश्चितताका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अघी बढाएको हो।
उक्त अस्पतालको निर्माण प्रस्ताव नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको संयुक्त लगानीमा गरिएको छ। नेपाली सेनाको महत्वकाङक्षी आयोजनाका रूपमा निर्माण गर्न लागिएको उक्त अस्पतालको बजेट सुनिश्चितताका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले जानकारी दिनुभयो।
उहाँका अनुसार “यो अस्पताल निर्माणगर्न आवस्यक पर्ने थप बजेटका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पत्र पठाइएको छ। चालू आर्थिक वर्षमा सोही अस्पतालका लागि छ करोड रुपियाँ निकासा भएर आएको छ। ”
७५० शय्या क्षमताको प्रस्तावित सो अस्पतालको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर र डिजाइन निर्माण कार्य भइसकेको उहाँले जानकारी दिनुभयो। सरकार र नेपाली सेनाको सैनीक कल्याणकारी कोषको सयुक्त रुपमा लगभग १८ अर्ब रुपैँयाको लागतमा उक्त अस्पताल निर्माण गर्न लागिएको हो। उक्त अस्पतालको निर्माण पछि आपत विपत र महामारीको समयमा जनतालाई सहज हुनका साथै तत्काल उपचारको कमीले जनताले ज्यान गुमाउन नपर्ने आशा गरिएको छ।