धनुषा। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दुर्गानन्द झा स्मृति अस्पतालको काम सुचारुका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएको छ ।
लोपसा नगराईन नगरपालिकाले धनुषाको जटहीमा शहीद दुर्गानन्द झाको नाममा निर्माणाधीन बाल अस्पतालको काम अविलम्ब सुचारु गर्नुपर्ने माग गर्दै मुख्य मन्त्री राउतलाई ध्यानाकर्षण गराइएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा शहीद दुर्गानन्द झा स्मृति अस्पतालको निर्माण कार्यको ६० प्रतिशत काम गरिएको र त्यसपछि काम ठप्प भएकाले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको छ । लोसपाको नगराइन नगरपालिकाका अध्यक्ष नवलकिशोर झा नेतृत्वको टोलीले राउतलाई ज्ञापन पत्र बुझाएको छ ।
सामाजिक विकास मन्त्रालयले अस्पातलको आकस्मिक कक्ष तथा ल्याव ब्लक निर्माणका लागि १ करोड ७० लाख १६ हजार ७४६ रुपैयाँको अनुमानित लागतसहित बोलपत्र समेत आह्वान गरेको थियो । सोही बोलपत्रको आधारमा लागेको ठेक्का मार्फत ६० प्रतिशत काम सम्पन्न भइसकेको ज्ञापन पत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८/०७९को प्रदेशको नीति तथा कार्यक्रममा अस्पताललाई ५० शैय्याको बाल अस्पतालको रुपमा विकास गर्ने उल्लेख रहेपनि त्यस अनुरुप बोलपत्र आह्वानको प्रक्रियासम्म शुरु हुन नसकेकोमा स्थानीय आक्रोशित भएको लोसपाका केन्द्रीय सदस्य राजीब झाले बताए । अस्पतालको बाँकी निर्माण कार्य अविलम्ब शुरु नगरिए त्यहाँका स्थानीय आन्दोलित हुन सक्ने चेतावनी समेत ज्ञापन पत्रमार्फत दिइएको छ ।