काठमाडौं। मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य द्रुतगतिमा अगाडि बढेको छ। इन्द्रसरोवर गाउँपालिकाबाहेक थाहानगरपालिका, राक्सिरागङ गाउँपालिका, मनहरि गाउँपालिका तथा कैलाश गाउँपालिकाले अस्पताल निर्माण कार्यलाई तीव्रता दिएको हो।
यसका लागि चार वटा स्थानीय तहमा जग्गा छनोट तथा बोलपत्र भई अस्पताल भवन निर्माण भइरहेको छ, भने एक स्थानीय तहको जग्गा छनोट प्रक्रिया अगाडि बढेको छ। गत वर्ष मङ्सिर १५ गते देशभरिका ३९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएको अस्पताल निर्माण कार्यअन्तर्गत मकवानपुरका पाँच स्थानीय तहमा पनि निर्माण कार्य सुरु भएको बताइएको छ।
थाहा नगरपालिकामा रु १२ करोड ५६ लाखको लागतमा थाहानगरको वडा नं ४ मा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख लवशेर विष्टले जग्गा खोजी र डिपिआर बनाउनका लागि समय खर्च भएपनि विसं २०८० को वैशाख महिनासम्ममा अस्पताल निर्माण भइसक्ने बताए ।
मनहरि गाउँपालिका–७ मनहरि बजारमा जीर्ण अस्पताल रहेको र त्यसलाई भत्काएर सोही स्थानमा रु १० करोड १५ लाखको लागतमा १५ शय्याको अस्पताल निमार्ण कार्य सुरु भएको छ। त्यसैगरी राक्सिरागङ गाउँपालिका–५ स्थित ठाडेभिरमा अस्पताल निर्माण कार्य गरिरहेको सो गाउँपालिकाले जनाएको छ।
यसैगरी जिल्लाको विकट क्षेत्र रहेको कैलाश गाउँपालिकाले पनि रु पाँच करोड ९२ लाखको ठेक्का सम्झौता गरी १० शय्याको अस्पताल भवन निर्माण कार्य सुरु गरेको जनाएको छ। इन्द्रसरोवर गाउँपालिकाले भने जग्गा अभावका कारण अहिलेसम्म अस्पताल भवनको निर्माण प्रक्रिया सुरु गर्न सकेको छैन। इन्द्रसरोवरमा रु ८० लाखको लागतमा पाँच शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको सो गाउँपालिकाले जनाएको छ।