काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पुँजी निर्माण गरी ठूलो परियोजनामा लगानी गर्न निर्देशन दिएका छन्। बोर्ड अन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले कोही आउला र भनेअनुसार काम गरौँला भनि पर्खेर नबस्न बोर्डलाई आग्रह गरेका हुन्।
उनले बोर्ड पुँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बनाए । मन्त्री शर्माले भने, ‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउँला र उसले भनेअनुसारको काम गरिदिउँला भनेर पर्खेर बस्ने किसिमको छ । अब सधैं यसरी मात्रै चल्दैन। लगानी बोर्ड आफैंले पुँजी निर्माण गरी ठूला परियोजनामा लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ । बरु यस्तो कोष बनाउने भए हामी पनि के कस्तो सहयोग गर्न सक्छौं, त्यसमा छलफल गरौंला ।’
बोर्ड उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरी निर्यातमा आधारित परियोजनाका लागि पुँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिए । कुल गार्हस्थ उत्पादन (जिडिपी) र पुँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरु परिकल्पना गरी लगानीका लागि अग्रसरता लिन उनले बोर्डलाई आग्रह गरे ।
समिति बैठकमा लगानी बोर्डले अरुण तेस्रो जलविद्युत आयोजना र मातहतका परियोजना, लजिस्टिक परियोजनाहरु, खप्तड एकीकृत पर्यटन विकास कार्यक्रम, तमोर जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो मस्र्याङ्दी जलविद्युत परियोजना, प्लान्ट भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्लीङ प्लान्ट र हुवासिन सिमेन्ट परियोजनाको कार्य प्रगतिबारे प्रस्तुतीकरण दिएको थियो ।
उनले बिदेशी लगानीकर्ताहरु आफैं परियोजना छनौट गरेर वा नेपालको परियोजनामा लगानी साझेदार भई आउने गरेका कारण सबैलाई समान व्यवहार गरी सहजीकरण गर्नुपर्ने बताए । उनले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडी बढ्नुपर्ने धारणा राखे ।