चितवन। सिजनमा बढी उत्पादन भई खेर जाने कृषि उपजको भण्डारणका लागि चितवनमा बागमती प्रदेशकै ठूलो र अत्याधुनिक शीत भण्डार सञ्चालनमा आएको छ। २८ सय टन क्षमताको ‘कोल्ड रुम’सहित शीत भण्डार आजदेखि सञ्चालनमा आएको हो।
भरतपुर महानगरपालिका–१८ स्थित चनौलीमा १७ करोड रूपैयाँभन्दा बढीको लगानीमा चितवन चनौली शीत भण्डार सहकारी संस्था निर्माण गरिएको हो। उक्त भण्डारमा १४ सय टन क्षमताको कक्षमा किसानले आफ्नो कृषि उत्पादन राख्न पाउने भएका छन्। शीत भण्डारको अण्डरग्राउण्डमा दुध तथा मासुजन्य फ्रोजन उत्पादन गर्न सकिने बनाइएको छ।
सहकारी मोडलमा स्थापित पाँच तले शीत भण्डारमा सबै कक्षलाई अत्याधुनिक प्रविधि प्रयोग गरी २४ सै घण्टा वातानुकूलित बनाइएको छ। शीत भण्डारमा किसान र व्यापारीले आवश्यकताअनुसार कृषिजन्य वस्तु भण्डारण गरेर राख्न पाउने व्यवस्था गरिएको बताइएको छ। चितवनमा सिजनमा उत्पादित बन्दा, काउली गोलभेडा, काँक्रो, फर्सीलगायतका कृजिजन्य उत्पादन जोतेर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि शीत भण्डारको अवधारणा ल्याइएको जनाइएको छ।
शीत भण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेश सरकारको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरको चार लाख ८२ हजार १६३, सहकारीको आठ करोड ६१ लाख ४२ हजार ३१० र बैंकको ऋण दुई करोड ९५ लाख रुपैयाँ लगानी भएको छ। शीत भण्डार निर्माण गर्ने उद्देश्यले २१ असार २०६९ मा सहकारी स्थापना भएको हो।