काठमाडौं। काठमाडौं चक्रपथ सुधार योजनाले समयमा काम पूरा नगर्ने निर्माण कम्पनीहरुसँग स्पष्टीकरण माग गरेको छ। काठमाडौं उपत्यकामा निर्माणाधीन तीन आकाशेपुल र बागमति करिडोर सडक विस्तारको काम समयमा हुन नसकेपछि निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो।
आयोजनाले ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्माण कम्पनीहरुलाई निर्देशन दिँदै सूचना प्रकाशित गरेको छ। खरिद ऐनअनुसार भएको सम्झौतामा तोकिएको समयावधिमा निर्माण पूरा गराउन बारम्बार ताकेता गर्दा पनि काम नगरेकाले ठेक्का तोड्न लागिएको आयोजनाले जनाएको छ।
बागमति करिडोर सडक विस्तारको जिम्मा पाएको एसएल कन्स्ट्रक्सन प्रालि, सानेपा–बल्खुमा निर्माण हुने आकाशेपुलको जिम्मा पाएको महर्जन पूर्णचन्डी सप्तपाथ जेभी, महालक्ष्मीस्थान कुसुन्तीमा र बल्खु रिङरोडमा निर्माण भइरहेको आकाशेपुलको जिम्मा पाएको महर्जन पूर्णचन्डी ड्रामा जेभीसँग आयोजनाले स्पष्टीकरण सोधेको हो।
वाग्मती करिडोरको सडक विस्तारका लागि योजनाले २०७२ असारमा एक वर्षमा सक्ने गरी सम्झौता गरेको थियो। तर पटक पटक म्याद थप गर्दा ५ वर्षमा पनि निर्माण कार्य सम्पन्न भएको छैन। त्यस्तै ३ वटा आकाशेपुलको २०७४ मै सम्झौता भएको थियो।
हालसम्मको प्रगति हेर्दा निर्माण कार्य समयमा नसक्ने देखिएको आयोजनाले जनाएको छ। पटक पटक ताकेता गर्दा पनि समयमा काम सक्ने सम्भावना नदेखेपछि ठेक्का किन नताड्ने भन्दै आयोजनाले निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो।