काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण सम्पन्न भएको २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। यही चैत ५ गते उक्त सबस्टेसन उद्घाटन हुने भएको हो।
४५६ मेगावाटको माथिल्लो तामाकोसी तथा निजी क्षेत्रले निर्माण गरेका विभिन्न जलविद्युत आयोजनाको विद्युत जोडिएर अन्य क्षेत्रमा प्रवाह हुने उक्त सबस्टेसन गत साउनबाट सञ्चालनमा आएको थियो। उक्त सबस्टेसनबाट तामाकोसीको १०० मेगावाट बीजुली जोडीयर काठमाडौं प्रवाह भइरहेको छ भने, बाँकी बिजुली त्यहाँबाट ढल्केबर सबस्टेसनमा जोडिएर पूर्व–पश्चिम वितरण भइरहेको बताइएको छ।
फागुन मसान्तसम्म माथिल्लो तमाकोसीबाट गत फागुनसम्म ९६ करोड ९० लाख युनिट विद्युत उत्पादन भएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले जनाएको छ। जसबाट कम्पनीले लगभग ४ अर्ब रुपैयाँ आम्दानी गरिसकेको बताइएको छ।
निर्माण सम्पन्न भएर सञ्चालनमा आएका मध्ये खिम्ती दोस्रो ठूलो सबस्टेसन हो। उक्त सबस्टेसनमा निजी क्षेत्रद्धारा निर्मित ५२.४ मेगावाटको लिखु– र २४.२ मेगावाटको लिखु 'ए' को बिजुली पनि जोडिने बताइएको छ।