काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एशियाली विकास बैंक (एडीबी) को दक्षिण एशिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। मन्त्रालयमा शुक्रवार भेटवार्ता भएको हो।
भेटमा जलविद्युत् एवम् सिँचाइ क्षेत्रका विविध आयोजनाबारे छलफल भएको छ। ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै उक्त प्रतिनिधिमण्डलले ती आयोजना कार्यान्वयनको अवस्था एवम् नयाँ आयोजनाका सम्भावनाका विविध विषयमा चासो राखेका छन्।
मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ क्षेत्रका आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण विषय कृषि नै भएकाले यस क्षेत्रमा एडिबीको सहयोग आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘सुख्खा जमिनमा सिँचाइ सुविधा पुर्याउन सकेमा कृषिजन्य वस्तुको आयात रोक्न सकिन्छ र त्यसले हाम्रो देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ । त्यसैले हामीलाई तराईसहित मध्यपहाडका खेतियोग्य जमीनमा सिँचाइ आयोजना पुर्याउनका लागि एडिबीको सहयोग आवश्यक छ।’
एडीबीका दक्षिण एशिया महानिर्देशक योकोयामाले ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्नु पर्नेमा जोड दिए ।
आयोजना विकास गर्दा सामाजिक एवम् प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनुपर्ने बताउँदै उनले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गरे ।