काठमाडौं। कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ। सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो।
उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी÷एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएकामा आइतबारदेखि नियमित सञ्चालनमा आएको बताइएको छ। अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पुर्याउने लक्ष्य रहेको छ । यसअघि कोभिड–१९का सङ्क्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको थियो।
उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन्। अस्पताल सञ्चालन आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका छन्।