काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हिजोदेखि सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताएका हुन्।
उनले भने “अब रङ्गशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ। मैले आफ्नो ठाउँबाट अघि बढाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
धुर्मुश–सुन्तली फाउण्डेशन पछि हटेपछि रङ्गशालाको काम रोकिएको छ। अध्यक्ष दाहालले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउन आवश्यक भएको जानकारी दिए। जिल्लामा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन सम्बन्धित मन्त्रालयलाई बजेटको व्यवस्था गर्नका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाए।