काठमाडौं। मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा हटाइएको छ। उक्त सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको हो।
सरकारी जग्गामा मोजमस्तिका रुपमा प्रयोग गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको छ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र खाली गर्नुपर्ने भन्दै १ पुसमा पत्र जारी गरेको थियो। पत्र पठाएको दुई महिना अर्थात चैत महिनामा मात्रै खाली गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय मुगुले जनाएको छ।
उनीहरुले करिब २८ महिना सम्म सम्झौताविना सरकारी जग्गामा निजी टहरा निर्माण गरी बसोबास गर्दै आएका कार्यालयले जनाएको छ। खाद्य कार्यालयलाई हालसम्म कुनै पनि बक्यौता भाडा पनि नदिएको र उल्टै उनीहरूले अन्य नागरिकबाट टहरा भन्दै भाडा असुल्ने गरेको बताइएको छ।