काठमाण्डौं। रत्नराजमार्गको नेपालगञ्ज–कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु भएको छ। डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर–जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरु गरिएको हो।
बिल्डअप एरियामा भने यसअघिकै निर्णयबमोजिम २१ मिटरसम्मका संरचना यथावत रहन दिइने भएको बताइएको छ। कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गरे पनि कोहलपुर उद्योग वाणिज्य सङ्घले अतिक्रमण हटाउने बारे स्थानीयवासीले जानकारी नपाएको जनाउँदै सात दिनको समय माग गरेको छ। स्थानीय व्यवसायीले समय मागेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका उपस्थितिमा सात दिनको समय दिने लिखित निर्णय भएको छ।
सात दिनभित्र पनि सडक क्षेत्रफल खाली नगरे सडक डिभिजनले हटाउने जनाइएकोे छ । कोहलपुरमा व्यवसायीले समय मागेपछि पिप्रहवाबाट संरचना हटाउन सुरु भएको छ । स्थानीय घरधनीले भने सडक डिभिजनले आफ्नो घर सडक क्षेत्रमा पर्यो कि परेन भनेर जानकारी नदिएकाले पनि समस्या भएको गुनासो गरेका छन् ।