पाल्पा। तानसेनमा व्यवस्थित बसपार्क आयोजनाका लागि नगर विकास कोषसँग ऋण सम्झौता भएको छ । कोषको प्राविधिक सहयोगमा अध्ययन गरिएको ‘पाल्पा बसपार्क’ आयोजना निर्माणका लागि शुक्रबार दुई पक्षबीच ऋण सम्झौता सम्पन्न भएको हो।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही बीच १७ करोड ४३ लाख १२ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ‘पाल्पा बसपार्क’ आयोजना निर्माणको कुल अनुमानित लागत रकम २४ करोड ९० लाख १७ हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिका आफैले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।
तानसेन नगरपालिकाको वडा नं. ५ वनदेवीमा करिब एक सय रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका स्याङ्जा, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही लगायतका जिल्लाहरूबाट आवतजावत गरिने सवारी साधनहरुको व्यवस्थापनका लागि महत्वपूर्ण नमूना आयोजनाको रुपमा हेरिएको छ । यस आयोजना अन्तर्गत प्रथम चरणमा आगन्तुक प्रतीक्षालय, सप स्टल, चिल्ड्रेन पार्क सहितको व्यवस्थित बसपार्क निर्माण हुने छ । दोस्रो चरणमा बसपार्कमा आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायीक भवनको समेत निर्माण हुने छ ।