काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएकी छन्।
मन्त्री भुसालले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२–३३–११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गर्दै सरकार विद्युत उत्पादनमा तीव्र गतिमा लागेको बताएकी हुन्।
उनले सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको र सो विद्युत् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युत् व्यापारका लागि समेत कार्य अघि बढाइको बताएकी छन् । उनले भनिन, “गत वर्ष भारतसँग ७५ मेगावाट विद्युत् बिक्री गरेर व्यापारको सुरुआत गरेका छौँ । आगामी वर्ष ५०० देखि ७०० मेगावाट विद्युत् बिक्री गर्ने योजना छ ।”
मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युुत् पुर्याउने गरी सरकारले नीति, कार्यक्रम र योजना बनाएको उल्लेख गरिन । उनले नेपालका नदी, नालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने बताइन ।
उनले भनिन, “राजनीतिक प्रणालीमा परिवर्तनपछि जलविद्युत्को विकासमा सरकारी प्रयास अघि बढेको छ । निजी क्षेत्रका लागि पनि यो खुला गरिएको छ । अहिले बत्तीका लागि होइन ऊर्जाका हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्ने र पेट्रोलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेका छौँ ।” पानीलाई बिजुलीमा रुपान्तरण गरेर बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी अहिलेको असन्तुलित व्यापार घाटा सन्तुलनमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री भुसालले बताइन ।