काठमाडौं। सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको हो ।
मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।
यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले २७ असारमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जा मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए।
लामो दूरीका सवारी भाडा बढेसँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन व्यवसायीले छोटो दुरीको सवारी भाडा समेत बढाउन लबिङ थालेका छन् ।