काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुदान सहयोगमा डेरी उद्योगीको छाता सङ्गठन डेरी उद्योग सङ्घले शीतभण्डार निर्माण गर्ने भएको छ। कोभिड–१९ को महामारी र त्यसबाट भएको बन्दाबन्दीले गर्दा दूध तथा दुग्धजन्य पदार्थमा झेलेको समस्याका कारण डेरी उद्योगीले सामूहिक रूपमा शीतभण्डार निर्माण गर्न लागेका हुन्।
कृषि मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदान सहयोग र डेरी व्यवसायीको लगानीमा चितवनस्थित चितवन मिल्क लिमिटेडको जग्गामा शीतभण्डार निर्माण कार्य अगाडि बढेको बताइएको छ।
चितवन मिल्क लिमिटेडले निःशुल्क जग्गा उपलब्ध गराएको छ। कोरोनाको समयमा उत्पादन गरेको दुग्धजन्य पदार्थ भण्डार गर्ने ठाउँ नपाएर निकै दुःख पाएको र त्यही दुःखका कारण शीतभण्डार निर्माण गर्न लागिएको बताइएको छ।
सङ्घले जारी गरेको बोलपत्रबाट एयर फ्लो इन्डस्ट्रिज प्रालि कपन काठमाडौँ ले सो शीतभण्डार निर्माण गर्ने पाएको हो। एक करोड ४९ लाख ४० हजार ९४८ रुपियाँको बोलपत्र स्वीकृत गरेको छ। उक्त शीतभण्डारको कुल लागत दुई करोड रुपियाँ रहेको र त्यसमा कृषि मन्त्रालयले ५० प्रतिशत अनुदान रहेको छ। अबको चार महिनामा निर्माण सम्पन्न हुने सो शीतभण्डारमा सात टनका नौवटा र १५ टनका दुईवटा भण्डार गर्ने स्टोर रहनेछन्।