काठमाण्डौं। चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ। करिब १३५ रोपनी जग्गामा ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो।
गुरुयोजनाअनूसार रङ्गशाला निर्माण अघि बढाइएको बताइएको छ। उक्त रङ्गशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो।
हाल जग्गा सम्याउने काम भइरहेको छ। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रङ्गशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताए। “बहुवर्षीय योजना भएकाले सङ्घ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइनेछ”, उनले भने। चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रङ्गशालाको डिपिआर सम्पन्न भएको छ।
नगरपालिकाले ४० लाख विनियोजन गरेको छ। हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ। खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिए। उक्त रङ्गशाला निर्माण पछि सो क्षेत्रमा खेलकुदको नयाँ हव बन्ने विश्वास गरिएको छ।