काठमाडौं। नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ।
बुधवार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताएकी हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम नेपालले भारतीय विद्युत बजारमा थप ३२५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति भएको जानकारी दिएकी छन् । मन्त्री भुसालले नेपालमा उत्पादित विद्युत अन्य देशमा समेत बिक्रि गर्न सक्ने बाटो खुल्ला भएको बताइन् ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा उद्योगहरुमा लोडसेडिङ नभएको बताए। उनले तत्कालिन समयमा भारतबाट विद्युत खरिद गर्न समस्या आएकाले कही कतै विद्युत कटौती भएको बाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गरे।
निर्देशक घिसिङले निजी क्षेत्रले बिजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्णतया राजनीतिक कुरा मात्रै भएको बताए । उनले तीन महिना भारतबाट केही विद्युत आयात गर्ने तर असारबाट भारतलाई ४ सय मेगावट विद्युत निर्यात गर्ने अवस्था रहेको बताए।