काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले यात्रुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरक फरक भाडा दर दिने अवस्था तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आइतवार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने स्पष्ट पारे।
गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताए।
त्यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाई थियो।
उनले भने, ‘यात्रुहरुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई। अब यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो । यात्रुहरुको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ । भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस् । अर्को यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ।’
गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताए।