काठमाडौं। ठुलो खोला हाइड्रो पावर कम्पनीले १५ मेगावाटको ठुलो खोला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। म्याग्दी जिल्लाको रहुगंगा गाउँपालिका भएर बग्ने ठुलो खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ।
वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको विभागले जनाएको छ।
विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय।सुझाव मागेको छ। विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय।सुझाव पठाउन सरोकारवाल समक्ष आग्रह गरेको छ।
उत्पादीत विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १६.१४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ। सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ।