म्याग्दी। म्याग्दी जिल्लामा ५८ मेगावाट क्षमताको तिम्ल्याङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका १, २, ५, ६ र ७ र रघुगंगा गाउँपालिका–१ मा तिम्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालीले आयोजना निर्माण गर्न लागेको हो।
बुधबार विद्युत विकास विभागले एक सुचना निकालेर प्रस्तावित आयोजना निर्माण तथा संचालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र लिखित राय सुझाव दिन सकिने उल्लेख छ।
यो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) हो। जसको जडित क्षमता ५८ मेगावाट रहनेछ। यसको डिजाइन वहाव ५४ घनमिटर प्रतिसेकेण्ड र कुल हेड (ग्रस हेड) १३३.१ मीटर रहनेछ।
आयोजनाबाट वार्षिक सरदर ३३५.३७ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ। आयोजनाको मुख्य संरचनाहरु कालीगण्डकी खोलाको बायाँ किनारमा पर्दछन्। हेडवर्क्स अन्नपूर्ण गाउपालिका २ र ६ मा पर्छ।
यो आयोजनाबाट ४८ महिना विद्युत निकाल्ने लक्ष्य छ।
विद्युत उत्पादनका लागि कालीगण्डकी खोलाको पानी प्रयोग हुनेछ। प्रस्तावित हेडवर्क्सभन्दा तल्लो तटीय क्षेत्रमा जीवजन्तु,जलचर तथा बोटविरुवाका लागि वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन अनुसार कालीगण्डकी खोलामा मासिक बहावको १० प्रतिशत खोलामा अविछिन्न रुपमा छोड्नुपर्नेछ।