काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक पूर्वाधारबीना कर्णालीको विकास र समृद्धि हुन नसक्ने बताएका छन्। नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयन सँगै यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार तीव्रताका साथ अगाडि बढेको बताएका हुन्।
शाहीले भनेका छन्, ‘प्रदेश राजधानी वीरेन्द्रनगरमा पूर्वाधार निर्माणसँगै प्रदेशको विकास र समृद्धिसँग जोडिएको कर्णाली करिडोरको स्तरोन्नती र निर्माणका लागि प्रदेश सरकारले आवश्यक पहल थालेको छ।’
उनले प्रदेश संरचना बनेपछि सडक पूर्वाधारका महत्वपूर्ण कामहरु भएको दाबी समेत गरेका छन्। उनले कर्णालीको विकासका लागि आफ्नो ‘छ ब’ वाला सुत्रको अवधारणा अघि सारेको पनि उल्लेख गरेका छन् । ‘बाटो, विद्युत, विचार, बन, बजार र व्यवस्थापन कर्णाली समृद्धिका आधारहरू हुन्,’ उनले भने,‘ स्थानीय सरकार भनेको चुल्होको सरकार, संघीय सरकार सुनिने र प्रदेश सरकार देखिने सरकार हो । संघीय सरकारबीचको सहकार्य र सह अस्तित्वलाई हामीले महत्व दिएका छौं।’