काठमाडौं। साझा यातायातका विद्युतीय बस नेपाल भित्रिएका छन्। चीनबाट तातोपानी नाका हुँदै ३ वटा बस काठमाडौं आउन नेपाल भित्रिएका हुन्।
साझाले ४० वटा विद्युतीय बस ल्याउने भनेकोमा अहिले तीन वटा आएको छ। तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार तीन वटा बस बुधबार नै आएका छन्।
बाटो असजिलो भएकोले तातोपानी भन्सारबाट बसलाई लोडरमा राखेर काठमाडौं ल्याइँदै छ।
चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार भएका हुन् । ती बस काठमाडौं आइपुगेपछि उपत्यकाका सडकमा प्ररीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने साझाले जानकारी दिएको छ ।
पहिलो चरणमा ९ मिटर लामो बस किन्न लागिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ ।
अब २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आउनेछन्। यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन्। क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।