कञ्चनपुर । महाकाली नदीमा नदीजन्य पदार्थको अवैध ओसारपसार बढेको छ । महाकाली नदीबाट दैनिक ग्राभेल, ढुंगा र गिट्टीको अवैध ओसारपसार ह्वात्तै बढेको हो।
उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको अन्तरिम आदेशले रोयल्टी ठेक्का दिन नसकिएपछि अवैध ओसारपसार बढेको हो।
भीमदत्त नगरपालिकाले असोज १ गतेदेखि रोयल्टी ठेक्का दिने गरी सम्झौता प्रक्रियालाई अन्तिम अवस्थामा पुगेको थियो। महाकाली पुल आयोजनाको ठेकेदार कम्पनीका कुमार श्रेष्ठले अदालतमा रिट हालेपछि ठेक्का प्रक्रिया अनिश्चित हुन पुगेको छ। सम्झौता हुन नसकेपछि महाकाली नदीमा दैनिक अवैध ओसारपसार हुन थालेको हो।
भीमदत्तले यस वर्षका लागि ६ करोडमा ठेक्का लगाउने तयारी गरेको थियो। भदौ अन्तिम साता अन्तरिम आदेशले मुद्दाको किनारा नलाग्दासम्म ठेक्का प्रक्रिया अघि बढाउन नहुने आदेश दिएको थियो। त्यसपछि नगरपालिकाको रोयल्टी ठेक्का अन्यौलमा छ।