काठमाडौं। तुलसीपुर बजारका सडकका दायाबाया राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो। २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए।
उक्त सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने केही बत्ती बढीमा डेढ वर्ष टिके। यसपछि सबै सडक बत्ती बल्न छोडे। रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि पैदलयात्रुलाई मात्रै सास्ती छैन, वरपरका व्यवसायीलाई पनि निकै समस्या हुनेगरेको स्थानीयले बताए।
तुलसीपुरका विभिन्न ठाउँका पसलमा चोरी भए पनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन निकै समस्या हुने गरेको जनाइएको छ। सडक बत्ती नबल्दा सीसी क्यामेराले देखाए पनि अनुहार चिन्न गाह्रो हुन्छ। बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल भएको देखिँदैन। अहिले सौर्य सडक बत्ती बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्थाले आफूहरुले नै बत्ती जडान गरेर बाल्ने गरेका छन्।
बत्ती मर्मत गरिदिने भनी पटक–पटक आश्वासन दिने गरेको भए पनि मर्मत गर्नतर्फ कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ। अहिले कसैले चासो नदिएपछि आफैँले बत्ती राखेर सडकमा बत्ती बाल्ने गरेको उनिहरु बताउछन्।
तुलसीपुरका विभिन्न स्थानमा १२५ सौर्य बत्ती जडान गरिएको छ। तीन पटक गरेर ती बत्ती जडान गरिएको हो। पहिलो पटक ३५ बत्ती जडान गरिएको हो। ती बत्तीमा रु ३६ लाख ३६ हजार लगानी लागेको थियो। त्यस्तै दोस्रो पटक रु ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो।