काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको आयोजनाले सात महिनाको अवधिमा चार अर्ब सात महिनामा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेको हो।
गत भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको आयोजनाले चैत मसान्तसम्ममा एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गर्दै चार अर्ब ३० करोड रूपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बेचेको छ।
आयोजनासँग वार्षिक औसत २२ सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने क्षमता रहेको आयोजनाले जनाएको छ। कम्पनीले वर्षभरिमा आफ्नो क्षमता अनुसार बिजुली उत्पादन गर्न सकेको खण्डमा ९ अर्ब २६ करोड रूपैयाँ आम्दानी गर्न सक्छ।
माथिल्लो तामाकोसी आएसँगै गत चैतमा देखिएको ऊर्जा संकट निवारणमा आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत आयोजनाको दाबी छ। आयोजनाका अनुसार अहिले माथिल्लो तामाकोसीले पिकआवरको मागको एक चौथाइ हिस्सा ओगट्दै आइरहेको छ।
कम्पनीले वर्षभरिमा आफ्नो क्षमता अनुसार बिजुली उत्पादन गर्न सकेको खण्डमा ९ अर्ब २६ करोड रूपैयाँ आम्दानी गर्छ। तामाकोशीले उत्पादन गरेको बिजुली औसतमा प्रतियुनिट ४.०६ रूपैयाँको दरले प्राधिकरणले खरिद गर्दै आइरहेको छ।