काठमाडौं। १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको आगामी मङ्सिरदेखि उत्पादन सुरु हुने भएको छ। धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको आयोजना आगामी मङ्सिरदेखि उत्पादन सुरु गरिने भएको हो।
उक्त आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ। २०७० सालमा सुरु भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भइसकेको छ। अगस्त ०१७ मा निर्माण सम्पन्न भइसक्नु पर्ने सम्झौता भएको भएतापनी भूकम्प, नाकाबन्दी, कोभिडका कारण समयमा नै सम्पन्न गर्न नसकिएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार हाल इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडान भइरहेको छ भने सिभिलतर्फ ९० प्रतिशत काम सकिएको छ। सिभिल कार्यमा दुई सयजनाका साथै इलेक्ट्रोनिकल काममा ६० जनाभन्दा बढी खटिएका छन्। विभिन्न कारणले आयोजनामा बाधा पुगेको भएतापनि अहिले आयोजनाको कामले तीव्रता पाएको छ।