काठमाडौं। भूकम्प गएको सात वर्ष बितिसक्दा समेत भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माण हुन नसकेका कारण अझै सयौँ विद्यार्थीहरु जस्तापाताका अस्थायी टहरामा बसेर पढ्न बाध्य छन्।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएका दोलखा जिल्लाका सामुदायीक विद्यालयको पुनर्निमाण अझै पूरा हुन सकेको छैन। स्वदेशी लगानीमा निर्माण सुरु भएका विद्यालयको पुनर्निमाण सकिएपनि विदेशी दातृ निकायमा निर्माण सुरु गरिएका एक दर्जन विद्यालयको पुनर्निमाण भने पूरा हुन नसकेका हुन्। भारत सरकारको अनुदान सहयोगमा पुनर्निमाण सुरु भएका दर्जन हाराहारीको संख्यामा रहेका सामुदायीक विद्यालयको काम बीचमै अलपत्र अवस्थामा रहेका छन्। जिल्लाका १० वटा सामुदायिक विद्यालयको पुनर्निमाण हाल सम्म पनि सम्पन्न हुन सकेको छैन। जिल्लाको बैतेश्वर गाउँपालिकामा रहेको कालिढंगा माध्यामिक विद्यालयको भवन निर्माण सुरु गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण पुरा हुन नसकेको विद्यालयका प्रधानाध्यापक पुस्कर कुमार दाहालले बताए।
२०७२ को भूकम्पले पूर्ण क्षती पुर्याएका यस विद्यालयको सम्झौता अवधि सकिए पनि अझै विद्यालयको पुनर्निमाण हुन नसकेको उनको भनाइ छ। हालसम्म विद्यालयको ७० प्रतिशत मात्र काम सकिएको छ। चैत मसान्तसम्म निर्माण सक्ने जनाएको कम्पनीले सम्झौताको म्याद सकिदा समेत विद्यालयको निर्माण अलपत्र पारेर छाडिदिएको हो। विद्यालयका नयाँ संरचना निर्माण नहुँदा सात वर्षदेखि पठनपाठन अस्थायी टहरामै सिमीत भएको उनले बताए। विद्यालय निर्माण नहुँदा बैशाख ३० गते हुने स्थानीय निर्वाचनको मतदान केन्द्र राख्न समेत समस्या भएको उनले बताए। बैतेश्वर गाउँपालिका वडा नम्बर ३ को मतदानस्थल कालिढुंगाा माध्यामिक विद्यालय हो।
यता गाउँपालिका वडा नम्बर ८ क्षेत्रपामा रहेको क्षत्रावती माध्यामिक विद्यालयको पुनर्निमाण पूरा हुन सकेको छैन। दुई वर्ष अघि सुरु भएको भवन निर्माणको काम अहिले अलपत्र अवस्थामा रहेको छ। क्षत्रावती माध्यामिक विद्यालयमा निर्माण सामाग्री एउटा कम्पनीले दिने अर्कोले विद्यालय निर्माण गर्ने कार्यले पनि निर्माण अलपत्र अवस्थामा पुगेको विद्यालयले जनाएको छ। भूकम्पका कारण क्षतिग्रस्त भएका तीन सय ६३ विद्यालयमध्य अधिकांशको विद्यालयको पुनर्निमाण सकिएका छन्। तर भारत सरकारको लगानिमा निर्माण सुरु गरिएका विद्यालयको काम भने अलपत्र अवस्थामा रहेको छ। जिल्लाको कालिनाग मावि, भिम मावि, कालिढुंगा, कालपानी, शान्ति आदर्श मावि, मानेडाँडा मावि, दुर्गा मावि, गुप्तेश्वर मावि, क्षत्रावति मावि र कालिञ्चोक मावि भवन निर्माणको काम पनि अझै पुरा हुन सकेको छैन। यी विद्यालयको निर्माण अवधि सकए पनि भवन निर्माणको काम ७०–८० प्रतिशत मात्र सकिएको छ। आजको आर्थिक दैनिकबाट