काठमाडौं। कमजोर व्यवस्थापकीय क्षमताका कारण बन्दप्रायः रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ। गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामा १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरेको हो।
उद्योगले आव २०७८/७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो। उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले चालु आवको बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको करिब रु ३० करोड घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने बताए। यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झण्डै दुई गुणा वृद्धि भएको तथा सिमेन्टको माग घटेको अवस्थामा यसले प्रभाव पार्न सक्ने उनको गुनासो छ।
२० लाख बोरासम्म बिक्री गर्दा कुनै ‘इन्सेन्टिभ’ नपाउने तर सो माथि बिक्री भएमा प्रतिबोरा रु १० को दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ। पछिल्ला समय उद्योगको वित्तीय स्थिति स्वस्थ्य बनेको छ। उद्योग व्यवस्थापनले आव २०७७/७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्याङ्कन गरिसकेको छ।