गोरखा। गोरखा जिल्लाको धार्चे गाउँपालिकाको अध्यक्ष पदका उमेदवारको विरोध भएको छ। ठेक्का पट्टामा संलग्न भएको भन्दै नेकपा माओवादी केन्द्रका उमेदवार लक्ष्मण गुरुङविरुद्ध दाबी विरोध दर्ता गरिएको हो।
लक्ष्मण विरुद्ध गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट उमेदवारी दिएका सन्तबहादुर गुरुङले उजुरी दर्ता गराएका छन्।
लक्ष्मण रुपीनाला कन्स्ट्रक्सनका सञ्चालक रहेको र उनको कम्पनीले धार्चे ६ काशीगाऊँमा सभाहल निर्माणको ठेक्का लिएको भन्दै मनोनयन खारेज गर्न माग गरिएको छ। पालिकाका निर्वाचनले उजुरी उपर छानबिनका लागि सूचना जारी गर्ने प्रकृया अगाडी बढाइ सकेको जानकारी दिएको छ।
सम्बन्धित पालिकाभित्र ठेक्कापट्टाको काम गरिरहेको व्यक्ति स्थानीय तह निर्वाचनमा उमेदवार बन्न नपाउने व्यवस्था छ । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरु उपर दावी विरोध गर्न निर्वाचन आयोगले मंगलबार साँझ ५ बजेसम्मको समय तोकेको थियो ।
तोकिएको समयभित्र धार्चे गाउँपालिकामा भने लक्ष्मणविरुद्ध दावी विरोध दर्ता भएको छ।