काठमाडौं। उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबिच भेटवार्ता भएको छ। भेटघाटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको हो।
राजदूत चौधरीले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्यमार्फत थप सुदृढ गर्न सकिने बताए।
यस्तै राजदूतले गत वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका पक्षबारे चासोसमेत राखेका छन्।
मन्त्री बडूले कोभिड–१९ महामारीमा बंगलादेशले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि विशेष धन्यवाद दिए। यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने मन्त्री बडूले बताए।
बंगलादेश सरकारबाट प्राप्त प्रस्तावमा विभिन्न तहमा छलफल तथा विश्लेषणको काम भइरहेकोले चाँडै बंगलादेश पक्षलाई नेपालको राय पठाउने जानकारी गराउने मन्त्री बडूले बताए।