काठमाडौं। सरकार र नेपाल निर्माण व्यवसायी महासंघबीच शुक्रबार वार्ता भएको छ। महासंघका मागका विषयमा शुक्रबार सरकारसँग छलफल भएको हो।
महासंघका तर्फबाट ५ सदस्यीय वार्ता टोली र सरकारबीच भएको छलफलमा आफूहरुको माग स्पष्ट रुपमा सरकार समक्ष प्रस्तुत गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए। शुक्रबारको बैठकमा सरकारका तर्फबाट महासंघका मागहरु सुनुवाइ भएको र पुन: अर्को बैठक आगामी बुधबार बस्ने गरी शुक्रबारको बैठक स्थगित भएको महासचिव दाहालले बताए।
महासंघले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धिको समायोजन, म्याद थप, सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका केही त्रुटि सच्याउनुपर्ने लगायतका माग राख्दै वैशाख ८ गतेदेखि आन्दोलनमा उत्रिएको छ। महासंघले वैशाख ८ देखि निरन्तर सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिँदै आएको थियो।
खरिद अनुगमनमा धर्ना दिँदा सरकार संवेदनशीन नबनेको भन्दै महासंघले प्रधानमन्त्री निवास अगाडी धर्ना दिने घोषणा गरेसँगै सरकार पक्षबाट महासंघलाई ५ सदस्यीय वार्ता टोलीसहित वार्ताका लागि बोलाइएको थियो। वार्ताका लागि बोलाइएसँगै महासंघले देशभरका सम्पूर्ण धर्नाका कार्यक्रम स्थगित गरेको छ। महासंघले गत वैशाख ११ गतेदेखि जारी गरेको निर्माण होलिडेको निर्णय भने यथावत छ।