काठमाडौं। सुनसरी–मोरङ औद्योगिक करिडोरलगायतका उद्योगमा तत्काल विद्युत् समस्या समाधान नगरे विद्युत् प्राधिकरणमा तालाबन्दी गर्ने भएका छन्।
प्राधिकरणले विना सूचना केही दिनदेखि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् आपूर्ति अवरोध गरेको बताएका छन्। मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उद्योगीहरुले पछिल्लो समयमा विद्युत्को ठूला समस्या झेल्न थाल्नु परेको बताएका छन्। तत्काल विद्युत् नियमित नभए प्राधिकरणमा तालाबन्दी गर्ने उद्योगीहरुले बताए।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाले केही दिनदेखि विना सूचना उद्योगमा दिइ रहेको विद्युत् दैनिक १२ घण्टाभन्दा बढी अवरुद्ध भएको बताए। ‘बुधबारदेखि २४ सै घण्टा विद्युत् आपूर्ति ठप्प भएपछि सबै उद्योग बन्द रहेको छ,’ अध्यक्ष रिजालले भने, ‘विना सूचना विद्युत् काटेपछि उद्योगले ठूलो नोक्सानी व्यहोर्नु परेको छ। मेसिनमा रहेका र उत्पादनको तयारी गर्दै गरेका वस्तु काम नलाग्ने अवस्था रहेको छ।’ सरकारले मंगलबारसम्म विद्युत्मा देखिएको समस्या हल नगरे बुधबार प्राधिकरणमा तालाबन्दी गर्दै बिहीबारदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने रिजालले बताए।
उनीहरुले लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने, स्वदेशी विद्युत् उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने, विद्युत्को न्यायोचित वितरण, विद्युत्को डिमान्ड शुल्क खारेज गर्नुपर्ने, कुटनैतिक पहलबाट समाधान खोज्नु पर्नेलगायतका माग गरेका छन्। विद्युत् सेवा अवरुद्ध हुँदा सुनसरी–मोरङ करिडोरका कम्तीमा ५ सय उद्योग प्रभावित भएका छन्। नागरिक दैनिकबाट