काठमाडौं। पहाडी क्षेत्रका लागि विकासको सम्बाहक मानिएको राष्ट्रिय गौरवको आयोजना हो पहाडी लोकमार्ग। २०६५ सालदेखि काम शुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्गमा लक्ष्यअनुसार काम भएको भए २०७४ सालमा नै गाडि गुड्नु पर्ने थियो।
तर हरेक वर्ष म्याद थप गर्दै बजेट खन्याउँदै गर्दा पनि अहिलेसम्म जम्मा भौतिक प्रगति ४९ प्रतिशत मात्र भएको छ। यो आयोजनाको अनुमानित लागत १४ अर्ब ३९ करोडबाट बढेर एक खर्ब एक अर्ब ५० करोड पुगेको छ।
राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था कस्तो छ भन्ने कुरामा देशका नेताहरुलाई खास्सै चासो रहेको देखिँदैन। सरोकारवालालाई भने यो चिन्ता र लज्जाको विषय बनिरहेको छ। राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था निराशाजनक मात्र हैन लज्जाजनक पनि छ।
मध्यपहाडी लोकमात्र मात्र नभएर अधिकांश राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था यस्तै छ। सरकारले एक दशको अवधिमा २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राख्यो र बजेट पनि विनियोजन गरेर कर्मचारी परिचालन गरेर प्राथमिकतामा राख्यो । तर कुनै पनि योजना सम्पन्न भएका छन् भने पनि समय भन्दा धेरै पछि सम्पन्न भएका छन्। र सुरुवातमा तोकिएको बजेटले पनि पुगेको देखिन्दैन।