काठमाडौं। नेपालमा तत्काल १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्न लोडसेडिङ बाधक भएको सिमेन्द उत्पादकहरुले बताएका छन्। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापाले सरकारले बिजुली र ब्याजमा अनुदान दिए तत्कालै १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्न सकिने बताएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफलमा अध्यक्ष थापाले यस्तो माग गरेका हुन् । नेपालमा अहिले उत्पादनको ४० प्रतिशत मात्र सिमेन्ट खपत हुने गरेको र बाँकी ६० प्रतिशत गोदाममै थन्किएको थापाले जानकारी गराए ।
नेपालको छिमेकी भारतीय बजारमा नेपाली सिमेन्टको माग हुँदाहुँदै पनि लागत बढी भएकाले निर्यात असम्भव रहेको उनले बताए। तर सरकारले सामान्य मात्र भरथेग गरिदिए विदेशी भूमिमा नेपाली सिमेन्ट जाने थापाले जानकारी गराए ।
अहिले भारतीय उत्पादनभन्दा नेपाली उत्पादन ९० प्रतिशत हाराहारी महँगो छ। त्यति मूल्य घटाउन सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।