काठमाडौं। सरकार र नेपाल निर्माण व्यवसायी महासंघबीच आज बैठक बस्ने भएको छ। सरकारसँग महासंघका मागहरुका विषयमा यस अघि भएका दुई वटा बैठक सकारात्मक भएसँगै आज तेस्रो बैठक हुने भएको हो।
आजको बैठकमा कानुनी र नीतिगत कुरामा पुन: छलफल गर्ने महासंघले जनाएको छ।
महासंघले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु सच्याउनुपर्ने लगायतको माग राख्दै गत वैशाख ८ गतेदेखि आन्दोलन गर्न शुरु गरेको थियो। महासंघले ११ गतेदेखि निर्माण होलिडे गरी देशभरका निर्माण कार्य ठप्प समेत गरेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा दैनिक धर्ना दिँदै आएको महासंघले प्रधानमन्त्री निवास अगाडी धर्ना दिने घोषणा गरेसँगै सरकारले वार्ताका लागि बोलाएको थियो। महासंघको उक्त मागको विषयमा यसअघि वेशाख १६ गते पहिलो र २१ गते दोस्रो मुख्य सचिवसहितको टोलीसँग महासंघका अध्यक्षसहितको ५ सदस्यीय टोलीले छलफल गरेको थियो।
अघिल्ला २ बैठक निष्कर्ष बिहीन भएपनि महासंघको मागका विषयमा सरकार सकारात्मक देखिएको महासंघले जनाएको छ।