चितवन । चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा महनगरले लिने भएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक कार्यक्रममा बोल्दै रंगशालालाई अलपत्र हुन नदिने बताएकी हुन् ।
उनले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र रकम संकलन नभए जति निर्माण भएको छ त्यहीँबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको स्मरण गर्दै अलपत्र हुन नदिने बताएकी हुन् ।
रंगशाला निर्माणका लागि हालसम्म महानगरले मात्रै ८ करोड सहयोग गरिसकेको समेत प्रमुख दाहालले जानकारी दिइन् ।
अहिले पनि २ करोड विनियोजन भएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेशनले आधिकारिक रूपमा निर्माण अघि बढाउन नसक्ने बताएमा महानगरले जिम्मा लिएर निर्माण गर्ने उनको भनाइ छ । रंगशाला निर्माणका लागि चितवनबासीले भरपुर सहयोग गरेको प्रमुख दाहालले बताइन् ।
आर्थिक अभावका कारण गत साउन १५ देखि रंगशालाको संरचना निर्माण ठप्प छ ।