काठमाडौं। गत चैत महिनामा निर्माण सामाग्रीको मूल्यमा २५ प्रतिशत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत पुगेको हो।
चैत महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ। फागुनमा यस्तो वृद्धिदर ७.१४ प्रतिशत थियो । २०७७ चैत महिनामा यस्तो मूल्यवृद्धि दर ३.१० प्रतिशत थियो ।
निर्माण सामग्रीमा चरम मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरू अहिले निर्माण बन्द गरेर ‘कन्स्ट्रक्सन होलिडे’मा छन् । उनीहरूले सबै ठेक्कामा मूल्यवृद्धि अनुसारको समायोजन गर्नुपर्ने माग गर्दै गत वैशाख ११ गतेदेखि देशभरका सम्पूर्ण निर्माण कार्य रोकेर बसेका छन्। यस विषयमा सरकार पक्ष र नेपाल निर्माण व्यवसायीबीच छलफल जारी छ।
गत वैशाख १६ गते पहिलो बैठक बसेको थियो भने त्यसपछि २ वटा बैठक बसिसकेपनि निष्कर्ष ननिस्किएकाले व्यवसायीले काम गर्न शुरु गरेका छैनन्।निर्माण व्यवसायीहरुले काम ठप्प पार्दा देशभरका पाँच हजारभन्दा बढी निर्माणाधीन आयोजनाहरु अलपत्र परेका छन्।