काठमाडौं। बरुण हाइड्रोपावर कम्पनीको नाफा ३०५ प्रतिशतले बढेको छ। बरुण कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गर्दै अघिल्लो वर्षको यसै अवधिको तुलनामा यस वर्ष ३०५ प्रतिशतले नाफामा वृद्धि भएको जनाएको हो।
कम्पनीले गत आवमा रू ५२ लाख ७२ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू २ करोड १४ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू ४ करोड ५८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू ६ करोड ९९ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू २६ करोड ७९ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू २ करोड ६४ लाख सञ्चित गरेको हो ।
चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू ११ दशमलव ८३ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३५ दशमलव ७४ गुणा, तरलता अनुपात ३ दशलमव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू। १०९ दशलमव ८६ रहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । अव आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।