काठमाडौं। रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाले २०७९ पुसभित्र विद्युत उत्पादन सुरु गर्ने भएको छ। रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाले आगामी ८ महिनाभित्र उत्पादन सुरु गर्ने भएको हो।
कम्पनीका अनुसार आयोजनाको बाँकी सबै काम पूरा गरेर आगामी पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ। अहिले आयोजनाको भौतिक प्रगति तिव्र गतिमा अघि बढेको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ।
इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडान गरिरहेको छ। कोरोना कालमा इलेक्ट्रोमेकानिकलतर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो।
आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि २०७२ सालको विनासकारी भुकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले जनाएको छ।
कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्याई आवत÷जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेकोले सम्पन्न गर्न नसकिएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ।
कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०७९ पुसभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ। यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ।