बैतडी। बैतडी जिल्लाको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरि सिंह धामी दोस्रो कार्यकालका लागि पनि विजयी भएका छन्। निर्माण व्यवसायी समेत रहेका धामी ३ हजार ४ सय ३९ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
धामीका प्रतिद्वन्द्वि नेकपा एमालेका जस्वीर सिंह बोहराले एक हजार सात सय ९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका राम सिंह साउदले एक हजार दुई सय ६४ मत प्राप्त गरेका छन्। गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेकी धाना धामी दुई हजार नौ सय ३९ मतसहित विजयी भएकी छन्।
गाउँपालिका अध्यक्षमा विजयी भएका धामी एच.एस कन्स्ट्रक्सनका सञ्चालक हुन्। उनी निर्माण व्यवसायी संघ कैलालीका सदस्य समेत रहेका छन्। धामी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचीत भएपश्चात उनले आफूलाई विजयी गराउने सम्पूर्ण गाउँपालिकाबासीलाई धन्यवाद दिँदै सिगासबासीले आफूलाई दिएको जिम्मेवारी कटिबद्ध भएर कुशलतापूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
धामीका ५ वर्षे संकल्पहरु
– विभिन्न राजमार्ग देखि गा.पा सदरमुकामसम्म जोड्ने सडकहरु १२ महिना सञ्चालन हुने गरि स्तरोन्नती गरिने र सम्पूर्ण वडा कार्यालयसम्म सडक विस्तार गरिनेछ । साथै कर्चेनडा–गर्जे, धौलारी–गर्जे सडकलाई आपसी समझरी र सहकार्यका साथ अघि बढाइने छ र मुख्य राजमार्गलाई संघ सरकार र प्रदेश सरकार संग समन्वय गरी कालोपत्रे गरिने कार्य अगाडी बढाइने छ।
–उज्यालो गाउँपालिका लक्ष्य अनुरूप गा.पा. भित्रका प्रत्येक घरलाई विद्युतको राष्ट्रिय प्रशारण लाईन–लघु जलविद्युत आयोजनासँग जोडि विद्युतीकरण गरिने छ।
–अर्जुन उ.मा.वि. गाँजरीलाई प्राविधिक विद्यालयको रूपमा कृषि विज्ञान विषय पढाइने कार्य यसै वर्ष देखि सुरु हुनगई रहेको र यस कार्यलाई प्रभावकारी बनाइने छ । शिक्षा क्याम्पस गांजरीलाई आर्थिक तथा भौतिक रुपमा सबल बनाई विश्वविद्यालय परामर्श गरी सिगास गा.पा.को शैक्षिक केन्द्रको रुपमा अगाडी बढाइने छ। साथै पालिका भित्रका अन्य विद्यालयहरुलाई पनि भौतिक र शैक्षिक रुपमा सु–सम्पन्न बनाइने छ ।
–पालिका स्तरीय १५ शैयाको अस्पताल निर्माण कार्य सम्पन्न गर्ने, सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ ईकाई र बर्थिङ सेन्टरलाई थप सुविधा सम्पन्न बनाइने छ । पालिकामा एम्बुलेन्सको व्यवस्था गरिनेछ । साथै स्वास्थ्य स्वयमसेविकालाई थप दक्ष बनाई दैनिक निर्वाह भत्ताको व्यवस्था गरिने छ।
–रैथाने बाली संरक्षण, उन्नत विउ विजन वितरण, कृषि तथा पशुपक्षी पालन व्यवस्था, व्यवसायीहरुलाई अनुदान वितरण कार्य थप व्यवस्थित बनाइने, सबै नागरिकहरुलाई सिचाई तथा खानेपानीको पहुँचमा पुर्याउने र सम्भाव्यता अध्ययन गरी कृषि पकेट क्षेत्र घोषणा र बजार व्यवस्थापन गरिने छ।
–नदी कटानबाट सृजित समस्या तथा विपद्बाट उत्पन्न समस्या समाधानका लागि प्रदेश तथा संघ सरकार संग समन्वय गरी राहात पुन स्थापना र पुनः निर्माण कार्य अगाडी बढाइने छ ।
–सिगासलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने साथै सिगास धुरा मन्दिर लगायतका अन्य सबै धार्मिक सम्पदाहरुको निर्माण गरिने छ साथै पालिका भित्रका रीति संस्कृतिको संरक्षण र संवर्द्धन गरिने छ ।
–गा.पा केन्द्र गर्जेमा व्यापार प्रवर्द्धन र बसाई सुव्यवस्थित बनाउन होटल तथा सटर निर्माण गरिने साथै संग्रहालय, पार्क, सेमिनार हल, पुस्तकालय, संगित केन्द्रको निर्माण र सबै वडाहरुमा समुदायिक अध्ययन केन्द्रको स्थापना गरिने छ ।
–कृषि विकास बैंक गजिरीलाई थप सुविधा सम्पन्न बनाइ बैंक मार्फत बडा कार्यालयहरुबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यमा समन्वय गरिने छ।
–गाउँपालिकालाई आत्मनिर्भर र सबल बनाउन आन्तरिक आय बढाउन करको दरलाई सिमित गरी दायरा बढाउने साथै थप आयस्तरको अध्ययन गरी व्यवस्थित गरिनेछ ।