काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पालिकास्तरसम्म कालोपत्रे सडक बनाउने योजना अघि बढेको बताएका छन्। मन्त्री शर्माले संसदमा बोल्दै पूर्ववर्ती सरकारले नीति तथा कार्यक्रममा ल्याएको पालिका स्तरमा कालोपत्रे सडक बनाउने योजना अघि बढेको बताएका हुन्।
मन्त्री शर्माले भने ‘पूर्ववर्ती सरकार ल्याएको नीति तथा कार्यक्रममा पालिका स्तरमा एउटा कालोपत्रे सडक बनाउने कुरा सुनेको थिए म मन्त्री भएपछि खोजे। त्यो बजेटको रुपमा हैन फाइल रहेछ। यसको लागि विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) रकम दिन तयार छ। तर प्रदेशले बनाउने कि संघले बनाउने भन्ने विषयमा विवाद रहेछ। मैले प्रदेशलाई नै दिएर काम अघि बढाउन प्रयास गरेको छु।’
संसदमा बजेटको सिद्धान्त र प्राथमिकतामा उठेको प्रश्नको जवाफ दिदैं मन्त्री शर्माले कृषिलाई प्राथमिकतामा राखेर बजेट आउने बताए। अर्थतन्त्रमा तीन समस्या रहेको मन्त्री शर्माको भनाई छ। कोभिडले प्रभावित बनेको अर्थतन्त्र बेमौसमी वर्षाको क्षति र रुस युक्रेन युद्धले मूल्य श्रृंखलामा पारेको असर छन्।
विदेशी मुद्रा संञ्चितिमा केही चाप बढेको छ। तर पछिल्लो समय रेमिट्यान्स बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ।